advertisement

ल्याटिन अमेरिकामा दक्षिणपन्थी लहर चल्दा ओरालो लागे वामपन्थी, ३ वर्षमै उल्टिए ९ सरकार

काठमाडौं ।

ब्राजिलको राष्ट्रपतीय चुनावमा दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोले अनपेक्षित अग्रता हासिल गरेका छन्। ८० वर्षीय बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ४५ प्रतिशत मत ल्याउँदा बोल्सोनारोले ४७ प्रतिशत मत प्राप्त गरेका छन्।

तर, जितका लागि ५० प्रतिशत नघाउनुपर्ने भएकाले उनीहरूबिच दोस्रो चरणमा भिडन्त हुने भएको छ।

बोल्सोनारो २०२२ को चुनावी नतिजा उल्ट्याएर कुको प्रयास गरेको अभियोगमा २७ वर्षका लागि जेल सजाय तोकिएका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका जेठा छोरा हुन्। उनी ४५ वर्षका छन्।

यससँगै ल्याटिन अमेरिकामा ब्राजिल पनि दक्षिणपन्थतर्फ मोडिने सम्भावना बलियो देखिएको छ। जहाँ पछिल्ला केही वर्षमा दक्षिणपन्थी लहर चलेको छ।

गत जुन महिनामा मात्र कोलम्बियामा वामपन्थी उम्मेदवार इभान सेपेदालाई हराउँदै चरम दक्षिणपन्थी अबेलार्दो दे ला एस्प्रिएला राष्ट्रपति बनेका थिए। 

मार्चमा चिलीमा चरम दक्षिणपन्थी होसे एन्टोनियो कास्टले वाम सरकार विस्थापित गरेर सत्ता लिए। कास्टले शिक्षा र कल्याणकारी कोष कटौती गरेर व्यवसायलाई कर छुट दिने घोषणा गरेका थिए। 

अर्जेन्टिनामा २०२३ मा चुनाव जितेका हाभियर मिलेइले त विश्वभर चर्चा पाइरहेका छन्। डोनाल्ड ट्रम्प र इजरायलको पक्षमा चर्को स्वरमा बोल्ने उनी पनि सरकारी खर्च कटौती गरेर आर्थिक संकट टार्ने प्रयासमा छन्। 

बोलिभिया, कोस्टारिका, इक्वेडर, एल सल्भाडोर, होन्डुरस, पानामा, पाराग्वे र पेरुमा पनि दक्षिणपन्थी सरकार बनेका छन्। 

आर्थिक संकटसँग जुधिरहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई डोनाल्ड ट्रम्पले अपहरण गराएपछि त्यहाँ अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको सरकार छ। त्यसबाहेक मेक्सिको, ग्वाटेमाला, उरुग्वेमा वामपन्थी सरकार छ। 

ब्राजिलमा बोल्सोनारोले जित हात पार्ने हो भने यो क्षेत्रमा नियमित चुनाव हुने मुलुकमध्ये १२ वटामा दक्षिणपन्थी सरकार बन्नेछ भने वामपन्थी सरकारको संख्या मात्र ३ मा खुम्चिने छ। जबकि तीन वर्षअघि नोभेम्बर २०२३ मा वामपन्थी सरकारहरूको संख्या ९ वटा थियो भने दक्षिणपन्थी सरकारको सरकारको संख्या ६ वटा। 

उता चुनाव नहुने क्युबा यतिबेला अमेरिकाको निसानामा देखिन्छ। ट्रम्प र उनका विदेशमन्त्री मार्को रुबियोले ६ दशकदेखि नाकाबन्दी खेपिरहेको क्युबाली सरकार ढाल्न हालसम्मकै कठोर प्रतिबन्धहरू लगाएका छन्।

किन जित्दैछ दक्षिणपन्थले
२०२३ यता ९ ल्याटिन अमेरिकी मुलुकले राजनीतिक खेमा परिवर्तन गरेका छन्। ७ वटा मुलुक वामबाट दक्षिण सरेका छन् भन् दुई मुलुक दक्षिणबाट वाम बनेका छन्। यसको कारण के हो त?

यसका मूलतः चार कारण देखिन्छन्।

पहिलो, शासनसम्बन्धी समस्या। जर्मन इन्स्टिच्युट फर ग्लोबल एरिया स्टडिज ह्यामबर्गकी प्रमुख सविना कर्टेनबाख खासगरी चरम सामाजिक असमानता, उच्च अपराध र कानुनी शासनको अभावले यस्तो परिवर्तन ल्याएको बताउँछिन्। वामपन्थी सरकारहरूले यी समस्या समाधान गर्न नसकेको उनको भनाइ छ।

कोलम्बियामा एस्प्रिएलाले सशस्त्र गुरिल्ला र लागुऔषध तस्करहरूलाई तह लगाउने वाचा गरेर चुनाव जितेका थिए। 

दोस्रो, ‘गुलाबी लहर’को प्रतिक्रिया। ल्याटिन अमेरिकामा १९६० र १९८० को दशकमा उदाएका सैन्य तानाशाहहरूले चरम दमन र अत्याचार गरेका थिए। ती तानाशाहहरूलाई फालेर कयौँ देश लोकतान्त्रीकरणमा गए। अनि वामपन्थीहरूले चुनाव लड्न पनि पाउने भए। 

परिणामस्वरु सन् २००० यता धमाधम वामपन्थी सरकारहरू बने। जसलाई ‘पिंक टाइड’ भन्न थालियो। जसले आर्थिक वृद्धि पनि गराउन सफल भए। तर, त्यो लहर कोभिड महामारीपछि टुंगियो।

आर्थिक मन्दी, बढ्दो अपराध र भ्रष्टाचार नियन्त्रण नहुँदा मानिसहरू फेरि दक्षिणपन्थी तानाशाहहरूतर्फ आकर्षित भएको विश्लेषकहरूको भनाइ छ।

तेस्रो, ‘बुकेले मोडल’को आकर्षण। २०१९ मा नायिब बुकेले एल साल्भाडोरको राष्ट्रपति बने। त्यतिबेला यो मुलुक विश्वमै सबैभन्दा ज्यादा हत्या हुने मुलुकमध्ये पर्थ्यो। २०२२ मा एक सप्ताहन्तमै ग्याङहरूले ८७ जनाको हत्या गरेपछि उनले संकटकाल घोषणा गरे। र, चरम दमन सुरु गरे।

त्यसयता उनले वयष्क जनसंख्याको २ प्रतिशत मानिस अर्थात् ८५ हजार हाराहारीलाई जेलमा थुनेका छन्। थुप्रैलाई कुनै मुद्दा पनि चलाइएको छैन। त्यसयता हत्याको दरमा ९७ प्रतिशतले गिरावट आएको छ।

उनले बिनाकुनै पुर्जी मान्छे पक्रिने, मुद्दा नचलाई थुन्ने, कानुनी अनुमति नलिई नागरिकको फोन ट्याप गर्ने जस्ता अभ्यास गरिरहेका छन्। अर्थात् उनले मानवअधिकारको अवधारणालाई निलम्बन गरिदिएका छन्।

बुकेलेले ठुल्ठूला जेल बनाएका छन्। जहाँ विभिन्न ग्याङका ६० हजार सदस्यलाई कठोर अवस्थामा थुनेर राखेका छन्। अर्कोतिर राज्यका अंगहरूमा उनको पूरा नियन्त्रण देखिन्छ। संसदमा प्राप्त बहुमतको आडमा उनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई हटाएर बफादारहरूलाई भर्ती गरेका छन् र राष्ट्रपतिको कार्याकालको व्यवस्था हटाएर उनले जति पटक पनि चुनाव लड्न पाउने व्यवस्था लागू गरेका छन्।

यति भइकन उनको लोकप्रियता उच्चतम विन्दुमा छ। त्यसैले ल्याटिन अमेरिकाका तनाशाही चलाउन चाहने दक्षिणपन्थीहरूका लागि उनको शैली आकर्षक बन्न पुगेको छ।

चौथो, अमेरिकाको सहयोग। ‘डनरो डक्ट्रिन’ लागू गर्ने चाहनामा ट्रम्प प्रशासनले खुलेरै ल्याटिन अमेरिकाका दक्षिणपन्थीहरूलाई सघाइरहेको छ। उदाहरणका लागि ट्रम्पले गतवर्ष अर्जेन्टिनाको आम चुनावअघि मिलेइको पक्षमा बोलेनन् मात्र, अर्बौं डलर सहयोग पनि दिए। 

त्यस्तै, ब्राजिलको बोल्सोनारो परिवारलाई पनि उनले खुलेआम समर्थन गरेका छन्। बोल्सोनारोकी पत्नीसहित सो परिवारका कयौँ सदस्यले सिनेट र प्रतिनिधिसभाको चुनाव जितेका छन्।

अन्तर्राष्ट्रिय कानुन मिचेको आरोप खेपेर भए पनि ट्रम्प प्रशासन वामपन्थलाई दबाउन अघि सरेको देखिन्छ। उदाहरणका लागि क्युबाको नाकाबन्दी र मदुरोको अपहरणलाई लिन सकिन्छ। उसो त यो क्षेत्रमा अमेरिकाको यस्तो हस्तक्षेप पहिलो पटक होइन। शीतयुद्धदेखि नै नियमित यस्ता घटना हुँदै आएका छन्। 

यति हुँदाहुँदै पनि आजको दक्षिणपन्थी लहर ल्याटिन अमेरिकामा मात्र सीमित घटनाक्रम होइन। विश्वभरि नै दक्षिणपन्थको शक्ति बढ्दो देखिन्छ। युरोपमा पनि चुनावैपिच्छे चरम दक्षिणपन्थी पार्टीहरूले जित्ने सिट र पाउने मतमा भारी वृद्धि गरिरहेका छन्। फ्रान्स, जर्मनी, बेलायतमा पनि उनीहरूको प्रभाव विस्तार भइरहेको छ। एजेन्सी 

advertisement