


जनकपुरधाम । उदयपुर, गाईघाट–३ स्थायी घर भएका ३६ वर्षीय विजय गुप्ताले जनकपुरको ऐतिहासिक रंगभूमि (बाह्र बिघा) मैदानमा चना चटपटे पसल सुरु गरेको ५ वर्ष भयो । यही पेसाबाट आर्जन भएको रकमले उनको जीवनयापन चलेकोमात्र होइन, २ छोराछोरीलाई जनकपुरकै राम्रो बोर्डिङ स्कुलमा पढाउँदै आएका छन् ।
गाउँका युवाहरू विदेश पलायन भइरहेको परिस्थितिमा गुप्ता पनि सुरुमा वैदेशिक रोजगारीमै गएका थिए । साउदी अरब र मलेसिया गरी ७ वर्ष वैदेशिक रोजगारीमा रहेका उनले पैसा नकमाएका होइनन्, तर कमाएको रकमभन्दा बढी आफ्नो उपचारमा खर्च गर्नु परेपछि उनी आर्थिक रूपमा नराम्ररी थला परे ।
बिरामी भएर उनी ६ वर्ष अघि नेपाल फर्किएका थिए । अल्सरको समस्याका कारण उनले पटक–पटक गरी उपचारमा करिब १५ लाख रुपैयाँ खर्च गरे । ‘७ वर्षसम्म वैदेशिक रोजगारीमा रहँदा ८–१० लाख रुपैयाँ त कमाइएको थियो,’ उनले भने, ‘तर बिरामी भएपछि उपचारमै १५ लाख जति खर्च भयो ।’ कमाएको पैसाले उपचार गर्न नपुगेपछि ऋण लिनु परेको उनले बताए ।
४–५ लाख रुपैयाँ ऋणको भारी बोकेर उपचार गराएपछि गुप्ता निको त भए, तर त्यसपछि घर–परिवारको खर्च कसरी धान्ने भन्ने अर्को चिन्ताले उनलाई पिरोल्न थाल्यो । ‘विदेशमा हुँदा उद्योगमा काम गर्थें, ओभरटाइस समेत गरी १२–१४ घण्टा काम गर्नुपर्थ्यो,’ उनले भने, ‘खानपिनको समय पनि मिलेन । बिरामी भइयो ।’
३/४ पटक ठुलो शल्यक्रिया भएपछि आफू जीवित रहन सफल भएको उनको भनाइ छ । बिरामी भएर मृत्युसँग पौठेजोरी खेलिरहँदा परिवारको ठुलो चिन्ता लागेको उनले सुनाए । ‘मेरै कारण यो संसारमा आँखा खोलेका २ अबोध बच्चाका साथै मेरै भर परेका श्रीमती र बुवाआमाको ठुलो चिन्ता लाग्थ्यो,’ उनले भने, ‘मलाई केही भइहालेमा उनीहरूको भविष्य के होला भन्ने चिन्तामा बस्थेँ । धन्न भगवान दाहिना हुनुभयो र बाँच्न सफल भइयो ।’
रोगबाट मुक्त भएपछि आफू शारीरिक, मानसिक र आर्थिक रूपमा पनि विदेश जानसक्ने अवस्थामा नरहेको गुप्ताले सुनाए । ‘कमाएको पैसाले उपचार गर्न नपुगेर ऋण लिनु परेको थियो,’ उनले भने, ‘त्यही ऋण कसरी तिर्ने भन्ने चिन्ता थियो । विदेश जान थप दुई–अढाइ लाख रुपैयाँ ऋण चाहिन्थ्यो । त्यसमा पनि भर्खरै रोगबाट मुक्त भएको कारण वैदेशिक रोजगारीमा जाँदा फेरि रोग बल्झिने हो कि भन्ने आशङ्का भयो ।’
त्यसपछि सुरु भयो उनको चटपटे व्यापार । ५ हजार रुपैयाँ जति लगानी गरेर उनले जनकपुरमा चटपटे व्यवसाय सुरु गरे । बाह्र बिघा मैदानको उत्तरपश्चिम कुनामा उनले ठेला राखेर चटपटे व्यवसाय गर्दै आएका छन् ।
दैनिक बिहान ८ बजे ठेला लिएर आउने उनले ९ बजेसम्ममाम ठेला राख्ने ठाउँ वरिपरि सरसफाइ गरी चटपटेका लागि आवश्यक सामग्री तयार पारिसक्छन् । ९ बजेबाट उनले व्यापार सुरु गर्छन् ।
ठेला वरिपरि ८/१० वटा प्लाष्टिकका कुर्सी राखिएको छ । अन्यत्र चटपटे खानेहरूलाई कुर्सीको व्यवस्था नहुँदा उठेरै खानुपर्ने बाध्यता भएकाले आफूकहाँ आउने ग्राहकलाई अप्ठ्यारो नहोस् भनेर बस्ने व्यवस्था मिलाएको उनले सुनाए ।
गुप्ताले ठेला राख्ने ठाउँ नजिकै जनकपुरकै प्रख्यात सङ्कटमोटन मन्दिर छ । यो मन्दिर दर्शन गर्न बिहानदेखि बेलुकासम्म दर्शनार्थी एवं युवायुवतीको भिड लाग्ने गर्छ । त्यसमा पनि शनिबार र मंगलबार त यो मन्दिरमा श्रद्धालुको ठुलो भिड लाग्ने गर्छ । मन्दिर दर्शन गर्न आउने अधिकांश श्रद्धालु पूजापाठ गरिसकेपछि उनको ठेलामा चना–चटपटे खान पुग्ने गर्दछन् । शनिबार र मंगलबार ८/१० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनी बताउँछन् । अन्य दिन ४/५ हजार रुपैयाँको व्यापार हुने उनले बताए ।
सरदर दैनिक २ हजार रुपैयाँ बचत हुने गुप्ताले बताए । अहिले यत्तिको आम्दानी स्वदेशमै हुँदा उनलाई पहिला आफू व्यर्थै विदेश गएँ भन्ने लाग्छ । ‘त्यतिबेला अल्लारे, ठिटो थिएँ । साथीभाइको लहैलहैमा लागेर विदेश गइयो । भोग्नुसम्मको दुःख भोगियो,’ उनले भने ।
विदेश जाने सोचमा रहेका युवायुवतीलाई सल्लाह दिँदै गुप्ताले भने, ‘दह्रो आत्मबल छ, यहीँ बसेर केही गर्छु भन्ने इच्छाशक्ति छ भने स्वदेशमै बसेर थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’
उनले आफ्नै उदाहरण दिँँदै अगाडि भने, ‘मैले चटपटे व्यापार सुरु गरेको ५/७ महिना त राम्रो व्यापार भएन । कहिलेकाहीँ त दिनको १०० रुपैयाँ पनि हुँदैनथ्यो ।’ तैपनि बलियो आत्मबलका साथ यही व्यापारबाट अगाडि बढ्न सक्छु भन्ने साहस गरिरहेका कारण यो अवस्थामा आइपुगेको उनको भनाइ छ ।
‘घामपानी नभनी मेहनत गरिरहेँ । व्यापार नहुँदा पनि निराश भइनँ,’ उनले भने, ‘अहिले ग्राहकलाई चटपटे बनाएर दिन पनि कहिलेकाहीँ त भ्याइँदैन । उहाँहरू पालो कुरेर भए पनि खाएरै जानुहुन्छ ।’
स्वच्छ सामान र सफाइमा ध्यान दिने र ग्राहकसँग राम्रो व्यवहार गरेमा यस्ता व्यवसाय सफल हुने गुप्ताको अनुभव छ । उनले ४० देखि ६० रुपैयाँसम्मका विभिन्न आइटम बेच्ने गरेका छन् । आलु चाट, क्रन्ची, आलु नमकिन, आलु चटपटे, चिउरा चटपटे लगायतका भेराइटी भएपछि ग्राहकले रोजीरोजी खाने गरेको उनको भनाइ छ । यही व्यवसायबाट जोगाएको पैसाले गाउँमा डेढ कट्ठा खेतसमेत किनेको उनले सुनाए ।
रोजगारी पाइएन, नेपालमा बसेर केही गर्न सकिएन भन्ने युवा पुस्ताका लागि विजय गुप्ता अहिले उदाहरण बनेका छन् । उच्च मनोबल, धैर्य र संयम अपनाएर सानो लगानीमा पनि कुनै व्यापार व्यवसाय गर्ने हो भने स्वदेशमै परिवारकाबिच रहेर सफलता पाउन सकिन्छ भन्ने एक उदाहरण बनेका छन् उनी ।

