advertisement

वैदेशिकपीडितकल्याणको आगमन

Default Thumbnail

सम्पादकीय
आदरणीय पाठकवृन्द,
हामी आजदेखि वैदेशिकपीडितकल्याण डटकमका साथ नेपाली सञ्चारजगतको एउटा सहयात्री बनेर उपस्थित भएका छौँ । हामीलाई विश्वास छ, नेपाली सञ्चारजगतको नजरबाट ओझेलमा परेका खास र विशिष्ट विषयवस्तुका साथ हाम्रो बेग्लै अस्तित्व र महत्त्व स्थापित हुने नै छ ।

कुनै पनि सञ्चार माध्यमका आधारभूत एवम् प्राथमिक उद्देश्य हुन्छन् । र, त्यस्ता उद्देश्यहरू हाम्रा पनि छन् । हामीले पनि आत्मसात् गरेका छौँ, जुनसुकै सञ्चार माध्यमका मुख्य उद्देश्य हुन्– सूचना दिनु; शिक्षा दिनु; मनोरञ्जन प्रदान गर्नु र अभिप्रेरणा दिनु ।

परम्परागत रूपमा एउटा सञ्चार माध्यमले जीवन, जगत र समाजका सवै विषयवस्तु पस्कँदै आएका थिए । तर, विगत केही वर्षयता नेपाली आमसञ्चारको क्षेत्रमा विशिष्टीकृत पत्रकारिताको राम्ररी अभ्यास हुँदै आएको छ । आर्थिक पत्रिका वा आर्थिक अनलाइन, स्वास्थ्य पत्रिका वा स्वास्थ्य अनलाइन, निर्माण पत्रिका वा निर्माण अनलाइन, नारी पत्रिका वा नारी अनलाइन इत्यादि यसका उदाहरण हुन् ।

हो, यसैगरी एउटा विशिष्टीकृत सञ्चार संस्थाका रूपमा हामी उपस्थित भएका छौँ । वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले अप्ठ्यारोमा परेका, ठगिएका र फसाइएका नेपाली नागरिकहरूका दुःख, पीडा, दर्द र मर्म बोकेर; उनीहरूका समस्या समाधानार्थ यथासक्य योगदान गर्ने उद्देश्यका साथ हामीले यो अनलाइन सञ्चार माध्यम सञ्चालनमा ल्याएका छौँ ।

हामीलाई विश्वास छ, आदरणीय पाठक, दर्शक र श्रोताबाट यो सञ्चार संस्थाले आत्मीमा माया पाउनेछ, विश्वास आर्जन गर्नेछ र आफ्नो मजबुत स्थान स्थापित गर्नेछ । हाम्रो यो प्रयास हाम्रा लक्षित पाठक, दर्शक, श्रोताका लागि, उनीहरूका पक्षमा एउटा सहयोगी र सफल पहल सिद्ध हुनेछ ।

यस अभियानमा हातेमालो गर्न हामी सवैसँग विनम्र अनुरोध गर्दछौँ । वैदेशिक पीडित कल्याण सञ्चार यात्राका क्रममा जोसुकैबाट प्राप्त हुने रचनात्मक सल्लाह, सुझाव र स्वस्थ आलोचना स्वागतयोग्य हुनेछन्; किनकि, ती सवै हाम्रो आगामी यात्राका लागि मूल्यवान् मार्गदर्शन हुनेछन् ।

advertisement